निर्वाचनले सिकाएको राजनिति र निम्त्याएको दोधार

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लक्ष्मी प्रसाद देवकोटाको यो भनाई सायद सानैमा बुझेछु कि के हो ? बच्चा देखिनै मन्त्री बन्ने परिकल्पना गर्दै मैले चिनेका र मलाई चिन्ने सबैलाई भन्दै हिँडे।

परिकल्पना यथार्थतामा परिणत तव मात्र हुन्छ जव हृदयमा इमान्दारी, मस्तिष्कमा समझदारी अनि काँधमा जिम्मेवारी लिएर अघि बढिन्छ। मेहनत, लगानी साथमा बोकेर सामाजिक, शैक्षिक, आर्थिकरुपमा आफूलाई घचेटि पनि रहेकै छु। समय भन्दा ठूलो केही छैन भनिन्छ तर मलाई मेहनत पनि साथमा चाहिन्छ झै लाग्छ। यो भूमिका यस कारण बुन्दैछु कि, कतै म जस्ता कयौं निष्ठावान कार्यकर्ताले देखेका सपनाहरु चकनाचुर हुने पो हो कि भन्ने पीर पर्न थालेको छ।

देश नेताले विगारेको कि जनताले ? भष्ट्राचार कसले मलजल गर्दैछ नेताले कि जनताले ? चुनाववाट सहि प्रतिनिधी छान्दैछन कि पैसावाला व्यापारीहरु ? पढेलेखेका युवापुस्ता किन राजनिती प्रति आकर्षित छैनन् ? विदेश जाने हवाईजहाजहरु किन नेपालीले भरिएर जाने गर्छन् ?

खोइ कसरी कहाँबाट शुरुवात गरौं ? आफै आफू भित्र प्रश्न गरिरहेको छु अबको राजनिती ? साच्चिकै जे अवस्था अहिले नेपालको छ सोही अवस्था अन्य देशको पनि हो कि ? मेरो देश मात्र वैचारिक निष्ठावान अझ भनौं नैतिकताबाट टाढिँदै छ ? मनभित्र अनेकौं प्रश्नका खातहरु तेर्सिरहेका छन्। देश नेताले विगारेको कि जनताले ? भष्ट्राचार कसले मलजल गर्दैछ नेताले कि जनताले ? चुनाववाट सहि प्रतिनिधी छान्दैछन कि पैसावाला व्यापारीहरु ? पढेलेखेका युवापुस्ता किन राजनिती प्रति आकर्षित छैनन् ? विदेश जाने हवाईजहाजहरु किन नेपालीले भरिएर जाने गर्छन् ? अब फेरि पृथ्वी नारायण शाह जस्तो दूरदर्शी, जंगबहादुर राणा जस्तो साहसी, त्रिभुवन जस्तो देशभक्त छोरा नेपाल आमाले पाउँछिन कि पाउँदैन्न होला ? वीपीको विचार अनुशरण गर्ने कांग्रेस, मदन भण्डारीको विचार उचाल्ने एमाले, गणेशमान सिंह जस्तो निस्वार्थी कांग्रेस, मनमोहन अधिकारी जस्तो देश विकासका दूरदर्शी योजना बुन्ने एमाले फेरि यो देशले पाउला कि नपाउला ? यो प्रश्नको उत्तर आफैंसँग खोज्दै गर्दा कहिले अत्यन्तै उत्साहित बन्ने गरेको छु त कहीले अत्यन्तै निराश ।

कहीले डंग्राहामा दिन भर आफनो घर वाट निस्किने महिलालाई हेरेर चित्त बुझाउँछु अनि कहिले हैन केहि परिवर्तन आफूले गर्न सक्छु भनेर आशावादी बन्ने गर्छु। कहिले एम ए पास तल्ला घरका काकाका कुरा सुनेर मख्ख पर्छु, लाग्छ मेरो ठाउँ मेरो देश अवस्य बन्नेछ भनेर रमाउँछु अर्को तिर गाउँका अशिक्षित जनता जसले आफ्नो भोट केवल १ केजी मासुमा बिक्री गरेका हुन्छन् अनि अब कसरी बन्छ मेरो समाज भनेर चिन्तित बन्छु।

अघिल्लो स्थानीय निर्वाचनमा आफ्नो पालिकाको उम्मेदवार भएपछि राजनितीको रस रसाउन थाल्यो । आफ्ना विद्यार्थी, साथीसंगी, नातागोता सवैलाई आफ्नो सपना मन्त्री बन्नेछ भनेर वताउँदै हिन्ने म मा राजनैतिक चेतना चाँहि पहिले बाट नै थियो। उम्मेदवार बनेर चुनावबाट उपविजेता बनेपछि आफूलाई निखार्न र तिखार्न थाँले, छोटो समयमा राजनितीलाई थोर वहुत बुझ्न पाइयो । स्वाभिमानलाई आफ्नो शक्ति मान्ने मान्छेलाई राजनिती गार्हो हुने महसुस धेरै भएको छ । भदाहा भदैनीले ‘सानिबाट राजनिती हुन्न, स्कूल चलाउनु पर्छ’ भन्दा म जतिको राजनैतिक चेतना भएको मान्छे चुप लागेर वसे समाज देश कतातिर धकेलिन्छ भन्ने बुझेर नै थोरै समय राजनितीको पाटोलाई पछ्याउन निकालेको छु। टाढावाट आउने आफन्त, माइती भनेर आउने चेलीवेटीलगायत धेरैसँग पातलो भेटघाट हुन थालिसक्यो। आफन्तले ठूलो मान्छे भइस भन्छन, दिदीहरु चिन्नै छाडिस भन्छन, परिवारमा भर्खरै जन्मिएका लालावालाले यो परिवारकै सदस्य हो भनेर चिन्न गार्हो हुने अवस्था छ। यसको अर्थ समय बाहिर बाहिर दिएर राजनिती नै गर्दैछु भन्ने पनि हैन, ९० प्रतिशत विद्यालयलाई र १० प्रतिशत समय अन्य क्षेत्रलाई बाँडिएको छ। तर जुन समय स्कूल बाहेकलाई दिएको छु, आफैलाई प्रश्न गर्छु, आखिर भोली चुनाव मै जाने हो भने मेहनत, इमान, जमान सबै पैसामा बिक्ने रहेछन । जनतालाई विकास हैन २ छाक मासु चाहिने रहेछ, नेताहरुलाई आफू अनुकुलको मान्छे चाहिने रहेछ। २–४ जना नेता भनाउँदाले भन्दा जसलाई पनि टिकट दिइने रहेछ । जनताले आफूलाइ बदलेर होइन बदला लिएर गर्ने राजनैतिक संस्कार बसेछ। ‘मिस्टर एक्स’ र ‘मिस्टर वाई’ को एक जमानामा बोल्ने कुरामा झुकिएर केहि शब्द तलमाथि भएको रहेछ भने उम्मेदवार बनेपछि देखाइदिन्छु भनेर पर्खेर बस्ने रहेछन । आफ्नो पार्टीको मान्छे भन्दा पनि आफूलाई मन नपरेको छ भने सार्वजनिक ठाँउमा (चियापसल, चौतारा आदिमा) सकेसम्म खेदो खन्दै बस्ने रहेछन् ।

आजकाल मानिसहरु पार्टीगत भन्दा व्यक्तिगत राजनितीमा बढी सक्रिय हुन थालेछन् । आफ्नो स्वार्थ अनुसारको व्यक्ति भए उसलाई जिताउन लाग्ने अन्यथा पार्टीको उम्मेदवार हारोस या जितोससँग कसैलाई मतलव रहेनछ। कहिले देखिका मनका कुण्ठा चुनावमा ल्याएर जोड्ने रहेछन। आफूले टिकट पाए सहि नपाए अर्को उम्मेदवार स्वीकार गर्न नसक्ने अवस्था रहेछ। आफूले पाए सबैले सहयोग गर्नुपर्ने अरुले पाए सके त्यसलाई कसरी सक्ने नसके सुत्ने अभ्यास हुन थालेछ ।

आखिर चुनाव त पैसाले नै जित्नुपर्ने रहेछ। उम्मेदवार जतिनै ‘भिजन’ र ‘मिसन’ भएको भएपनि उँसग त्यो भन्दा बढी पैसा हुनुपर्ने रहेछ । अन्यथा चुनावमा उठेर जित्छु भन्ने कल्पना गर्नुपनि भूल हुने रहेछ ।

चुनावी फण्डा जे पनि हुने । असल मान्छे नै चुनावमा उठेपनि अनेक कमजोरीहरु खोज्ने, नभेटे कपोकल्पित नै बिषय निकालेर पनि बदनाम गर्ने व्यबहार ब्याप्त रहेछ । उम्मेदवारले समाजमा कति योगदान गरेको छ भन्दा पनि कति आर्थीक क्षमता छ ? भनेर खोजिने रहेछ । आखिर चुनाव त पैसाले नै जित्नुपर्ने रहेछ। उम्मेदवार जतिनै ‘भिजन’ र ‘मिसन’ भएको भएपनि उँसग त्यो भन्दा बढी पैसा हुनुपर्ने रहेछ । अन्यथा चुनावमा उठेर जित्छु भन्ने कल्पना गर्नुपनि भूल हुने रहेछ । आजका धेरै कार्यकर्ता न वीपीको सिद्धान्त बोकेर कांग्रेस जिताउन हिडेका छन, न त मदन भण्डारीको विचार बोकेर एमाले जिताउने अभियानमा लागेका छन् । लागेका छन् त केवल उम्मेदवारले जित्यो भने भोलि आर्थीक लाभहोस या अन्य कुनै लाभ पाइन्छ भन्ने स्वार्थले ।

जमिन्दारकोमा खेत जोत्ने व्यक्ति, दिनभर रिक्सा– ठेला चलाउने, उद्योगमा काम गर्ने मजदुरले चुनावमा खानपिन गर्न खोज्नु स्वभाविक त्यतिबेला स्वभाविक लाग्यो जतिबेला उच्च ओहोदाका कर्मचारी, उद्योगी, व्यवसायी र आफूलाई सचेत नागरिकको दर्जामा राख्ने युवाहरु पनि त्यहि खोज्दा रहेछन् । चुनावमा उम्मेदवारसँग एक/दुई दिने खानेकुरामा लागेर विचार र सिद्धान्तको राजनिती भुल्दा रहेछन् । यो चरित्र एउटा पार्टीमा मात्र हैन सबैमा लागु हुनेरहेछ। जनता सचेत नभएर भनौ कसरी ? सचेत जनताले त झन ब्राण्ड खोज्ने रहेछ। पार्टीले टिकट दिएको उम्मेदवारले खाजा, नास्ता खुवाएन बेलुकी अलि रसपान गराएन भने त खोइ कुन पार्टीमा गएर भोट हाल्ने रहेछन थाहै नहुने । अर्को पार्टीलाई भोट हालिसकेपछि आफ्नो पार्टी हार्यो भने मन दुख्छ कि दुख्दैन होला ? पार्टीको विजय जुलुस घरको झ्यालवाट हेर्दा अर्काको चुनाव चिन्हले गिज्याए जस्तो लाग्छ कि लाग्दैन होला ?

आजको २१ औ शताब्दी अनि मानिसहरुको सोच चाँहि कति साँघुरिएको होला भनेर अनौठो पनि लाग्यो । चुनावमा प्रतिस्पर्धा एउटा कुरा, कुनै दलका प्रतिनिधि भएर नै उभिनुपर्छ । कसैसँग बोल्दैमा, कसैसँग घुम्दैमा कसैकोमा जादैमा आफ्नो विचार परिवर्तन कहाँ हुन्छ ? मानवीय सम्वन्ध, पारिवारिक सम्वन्धलगायत अनेक सम्वन्धले मान्छेलाई मान्छेसँग जोडेको हुन्छ । तर बोल्यो कि शंका– उपशंका गर्ने बानी उस्तै व्याप्त रहेछ। उम्मेदवार उठ्ने बेला प्रतिस्पर्धी धेरै हुन्छन, टिकट एकजनाले पाउने हो, नपाउनेहरुको केहि समय, केहि दिन मन दुख्नु स्वभाविक हो । सवैलाई दुख्छ । तर टिकट पाउनेले उ माथि शंका उपशंका गरिरने अनि टिकट नपाउनेले पनि त्यसकै बदला लिने अर्को भयानक अवस्था रहेछ। यी यावत समस्या र अवस्थाको निराकरण समयमा खोजिन आवश्यक छ । अन्यथा राजनितीदेखि वितृष्णा जाग्नेको संख्या ज्यामितीय रेसियोमा बढ्नेछ। र देश कुन भड्खालामा जाला सोचनीय बिषय बनेको छ।

राजनिती हाट्टहुट्टमा चल्न थालेको छ, ‘एु भन्ने मान्छे विचारले परिपक्व, पार्टीप्रति बफादार, शालिन, वौद्धिक, धैर्यवान छ । उसँग नेतृत्व गर्ने क्षमता छ तर अलि कम बोल्ने बानी छ भने उ पछि परिहाल्छ ।’ बी भन्ने मान्छे अगाडिका केहि गुण छैन तर बोल्नचाँहि कहिले पार्टी सिध्याउछु, यो नेता सक्छु, तलाई देखाइदिन्छु भन्ने कुराहरु खुलेआम बोल्न सक्छ, त्यसैले उ असली नेता हुने रहेछ।

updated र outdated दुई फरक कुराहरु हुन, outdated ले updadated लाई किन अगाडि जान दिन्छन र ? उनिहरुलाई आफ्नो विरासत आफू अनुकुलको मान्छे ल्याएर पनि राख्नुछ त्यसकोलागि डरलाग्दा भूमिकाहरु खेलिँदा रहेछन । गाउँका मुखिया टाइपका मान्छे जिताउन पर्यो भने आफ्नो पार्टीका उम्मेदवार फेर्ने, कमजोर उम्मेदवार दिने, उम्मेदवारलाई सहयोग गरेजस्तो गर्ने तर अन्यत्र गुप्त सहयोग गरेर अर्को पार्टीलाई जिताउने समेत हुने रहेछ । आखिर त्यसले पनि त केही फरक नपर्ने रहेछ । त्यस्ता कमजोरी सुधार्न सम्बन्धित ठाउँमा जानकारी नै गराएपनि उल्टै डाहा गरेको महशुष हुने रहेछ । हो यस्ता अनेक कुराहरुले गर्दा पार्टी हार्नेरहेछ । त्यसैले त दोधारमा छु, राजनितीमा नै अघि बढौं कि पूर्ण बिराम लगाउँ !

रीता न्यौपाने
बुढीगंगा– २ , टंकिसिनवारी

Back to top button