मूल्यवृद्धि विरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सिलिण्डरसहितको प्रदर्शन

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसमा गरेको चर्को मूल्यवृद्धिको बिरोध गर्दै प्रदेश नं १ मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन भएको छ।

विराटनगरस्थित प्रदेश नं १ को मुख्यमन्त्री कार्यालय अगाडी भेला भएर उपभोक्ता अधिकारवादी तथा सर्वसाधारण व्यक्तिहरुले खाली सिलिण्डरसहित सडकमा फ्यालेर प्रदर्शन गरेका हुन् ।

खाली सिलिण्डर र प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उपभोक्तावादीहरूले हरेक बस्तुको मूल्य आकासिदा जनताको जनजीवन प्रभावित बन्न थालेको बताएका छन् ।

केन्द्र सरकारको प्रमुख स्वामित्तमा रहेको आयल निगमले अचाक्ली रुपमा मूल्यवृद्धि गर्दा प्रदेश सरकार मुकदर्शक भएर बसेको र जनताको जनजीवन सहज बनाउन केहि पहल नगरेकोले प्रदर्शन गर्न बाध्य हुनपरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताउनु भयो ।

उहाँले अहिले हरेक दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै सरकारले तत्काल मूल्यवृद्धि घटाउन कदम चाल्नुपर्ने बताउनुभयो। प्रदर्शनमा उपभोक्ता अधिकारवादीहरुलगायत सर्वसाधारण जनता तथा बिबेकशील साझा पार्टीको नेता–कार्यकर्ताको उपस्तिथी रहेको थियो ।

Back to top button