पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सकिदैन : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउनु भन्ने अवस्था नरहेको बताउनुभएको छ ।

१५ विद्यार्थी सङ्गठनले संयुक्तरूपमा बुझाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले मूल्य घटाउन भन्न नसकिने बताउनुभयो ।

मन्त्री बडूले अहिलेपनि निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा बेहोरिरहेको बताउनुभयो ।

विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको भन्दै उहाँले त्यसतर्फ सरकार लागिरहेको बताउनुभयो ।

मूल्य अझै बढ्न सक्ने भन्दै मन्त्री बडूले रुस र युक्रेनको युद्धका कारण विश्वबजारमा अभाव देखिएको र यो अवस्था कहिलेसम्म जाने भन्ने निश्चित नभएको बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थमा लागेको करको दायरामा केही छुट दिन मन्त्रिपरिषदमा प्रस्ताव पुगेको भन्दै नेपाल र भारत सीमामा भएको मूल्यको असमानतालाई समायोजन गरिने पनि बताउनुभयो ।

मन्त्री बडूलाई मन्त्रालयमै पुगेर १५ विद्यार्थी सङ्गठनका प्रतिनिधिले ध्यानाकर्षण पत्र दिँदै पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको अत्यधिक मूल्यवृद्धि पूर्ण खारेजीको माग गरेका छन् ।

त्यसैगरी मन्त्रालय र संयुक्त विद्यार्थी सङ्गठनबीच विगतमा भएको सहमति कार्यान्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरूलाई सहुलियत दिनुपर्ने उनीहरूको माग छ । विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गरी अन्य लाभ लिनसमेत माग गरेका छन् ।

Back to top button