दैलेखमा बस दुर्घटना ४ जनाको मृत्यु ३९ जना घाइते

दैलेख । दैलेखको आठबिस नगरपालिका वडा नं. २ सिस्नेमा गएराती भएको बस दुर्घटनामा ४ जना मृत्यु भएको छ ।

कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभएको छ ।

उहाँका अनुसार दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको हो ।

६२ जना यात्रु सवार बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बस राजमार्गबाट ४० मिटर तल कर्णाली नदीमा खसेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल हुँदा बस दुर्घटना भएको हुनसक्ने देखिएको छ ।

Back to top button