युक्रेन– रुस युद्ध टुङ्गिनुपर्नेमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको जोड

पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले युक्रेनले रुससँग सम्झौता गर्न र तीन महिना लामो युद्ध अन्त्य गर्न आफ्नो हिस्सा दिनुपर्ने बताउनुभएको छ । स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चको बैठकमा हेनरी किसिन्जरले यस्ते बताउनुभएको हो ।

उहाँले रुससँग वार्ता सुरु नगर्दा र रुसको विरोध जारी राख्दा युरोपको स्थायित्वमा नराम्रो असर पर्ने र यसको परिणाम लामो समयसम्म रहने बताउनुभयो । उहाँले अझै तनाव बढेर युद्धबाट बाहिर निस्कन गाह्रो हुनुअघि नै वार्ता सुरु गर्नु जरुरी रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ,‘विभाजन रेखा यथास्थितिमा फिर्ता हुनुपर्छ। यहाँबाट युद्धलाई अगाडि बढाउनु युक्रेनको स्वतन्त्रताको कुरा होइन, बरु रुसविरुद्ध नयाँ युद्ध सुरु गर्नु हो।’

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हेनरी किसिन्जरले संकटकालमा महादेशमा शक्ति सन्तुलन कायम राखेर रुस ४ सय वर्षदेखि युरोपको महत्वपूर्ण हिस्सा रहेको बताउनुभएको छ । पश्चिमी देशहरूले युरोपमा रूसको महत्त्वलाई सम्झनुपर्ने र आवेगमा काम गर्ननहुने बताउनुभएको छ ।

सन् १९७० को दशकमा किसिन्जर राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको सरकारमा हुनुहुन्थ्यो । यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको थियो। दुई देशबीच अहिले पनि युद्ध जारी छ। रुस युक्रेन नेटोमा सामेल हुने कुराको विपक्षमा छ।

Back to top button