काठमाडौं महानगरका नवनिर्वाचित मेयर साहको विजयी र्‍यालीको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन्।

साहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिनुभएको छ ।

‘अन्तिम घोषणा भएको केहि समयपछि हाम्रो र्‍याली सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ’, उहाँले लेख्नुभएको छ, ‘त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ ।’

आफूलाई पायक पर्ने समय र स्थान मिलाएर र्‍यालीमा सामेल हुन सक्ने उहाँले जानकारी दिनुभएको छ।

पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ। अब तीन वडाको ७ हजार मत मात्रै गणना बाँकी छ।

यस्तै, पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनुभएको छ ।

Back to top button