पल शाहको थुनछेक सुनुवाइ स्थगित

काठमाडौ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पल शाहको आजको थुनछेक सुनुवाइ स्थगित भएको छ ।

निवेदक पल शाहकै कानुन व्यवसायीले आजकालागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाई स्थगित भएको हो ।

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो ।

दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले आजका लागि दैनिक पेसी सूचीमा राखेको थियो । तर तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट आजको पेसी स्थगित गराइएको हो ।

अब निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ ।

Back to top button