समिक्षाद्धारा बालेन र सुनितालाई बधाई

काठमाडौं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं महानगरापालिकाको मेयर पदमा उम्मेदवार उठ्नुभएकी समिक्षा बास्तोलाले बालेन शाह र सुनिता डंगोललाई बधाई दिनुभएको छ ।

उहाँले फेसबुकमा लामो स्टेटस राख्दै काठमाडौंबासीको विश्वास, हजारौँ युवाहरुको भरोसा, अनि राजधानीको गौरव पुनस्थापित गर्ने संकल्पमा विचलित नहुन आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘राजधानी महानगरको प्रमुखमा बालेन्द्र शाह र उपप्रमुखमा निर्वाचित हुनुभएकोमा सुनिता डंगोललाई हार्दिक बधाई तथा शुभकामना १ चुनावमा आ–आफ्ना एजेन्डामा टेकेर प्रतिस्पर्धा गर्नु स्वाभाविक हो। म आफैँले पनि राजधानी महानगरको नेतृत्व लिन अग्रसरता लिएँ तर काठमाडौंले यसपटक तपाईंहरुलाई विश्वास गरेको छ।’

उहाँले अगाडि लेख्नुभएको छ, ‘कतिपय एजेन्डा, उमेर समूह, उर्जा र केही गरेरै छाड्ने हुटहुटीलाई आधार मान्ने हो भने तपाईंहरु हाम्रो पुस्ताको नेता हो। आशा अनि विश्वास छ, हजारौं युवाहरुको भरोसा, महानगरबासीको विश्वास र देशको राजधानी सहरको गौरव पुनःस्थापित गर्ने संकल्पबाट रत्तिभर विचलित नभई यहाँहरु अघि बढ्नु हुनेछ।’

यस्तै, उहाँले नेवा सभ्यताको पुनर्जागरण, राजधानीको गौरव पुनःस्थापना अनि राजधानी र राजनीतिको फोहोर सफा गर्ने विषयमा नवनिर्वाचित उम्मेदवारहरुको कार्यकाल भरि आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

Back to top button