पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ।

समय लिएर सदनलाई मूल्यवृद्धिबारे सरकारको धारणा राख्दै मन्त्री बडूले भन्नुभयो, ‘मूल्यवृद्धिका कारण सर्वधारणमा परेको मारलाई ध्यान दिएर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ। प्रस्ताव मन्त्रिपरिषदमा पेश भएर अर्थमन्त्रालयमा पुगेको छ।’

सरकारले पेट्रोलियम पदार्थमा धेरै किसिमका कर लगाउँदै आएको छ। हाल बजार मूल्य १ सय ८० रुपैयाँ रहेको एक लिटर पेट्रोलमा सरकारले ६३ रूपैयाँ ३४ पैसा कर उठाउँदै आएको छ।

यस्तै,डिजेल, मट्टितेल, ग्यासमा समेत सरकारले यही अनुपातमा कर लगाएको छ।

Back to top button