सर्वोच्चको निर्णयविरुद्ध आज माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ।

निजगढ विकास पक्षधरहरूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध आज प्रदर्शन भएको हो। सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए।

२०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपरेको बाराका युवा नेता दामोदर मैनालीले बताउनुभयो।

‘हामीले अहिले न्यायपालिकाले कार्यपालिकाको कामप्रति हस्तक्षेप गर्दै बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो’, उहाँले भन्नुभयो।

यस्तै, अदालतले आफ्नो फैसला नसच्चाए देशभर आन्दोलन घोषणा गर्ने उहाँले चेतावनी समेत दिनुभयो।

‘न्यायलयले वातावरणीय अधिकारलाइ मात्रै प्राथमिकता दिइ अन्य मौलिक अधिकारहरू–रोजगार, विकास र जीवनको अधिकार लगायतलाई कम प्राथमिकता दिइ गरेको फैसला न्यायिक देखिँदैन। तसर्थ सो फैसलाको पुर्विचार हुनुपर्छ र पुनर्वालोकन पनि हुनुपर्छ भन्ने हामी विकासपक्षधर सम्पूर्ण नेपालीहरूको आवाज हो’, युवा नेता मैनालीले भन्नुभयो।

‘यो अदालतप्रतिको प्रारम्भिक प्रतिक्रिया हो,’, निजगढका युवा उघमी ऋृषिराज बडालने भन्नुभयो। अदालतको निर्णय गलत भन्दै त्यसलाई सच्चाउन उहाँले माग गर्नुभयो।

अदालतको आदेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्न बाराका जनता तयार रहेको अर्का सहभागी नबराज पौडेलले बताउनुभयो।

उहाँले यो निर्णयले मधेश प्रदेशसँग सतप्रतिशत धोका भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको चर्चाले तराईबासीमा थपिएको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको उहाँको आरोप छ ।

विरोध प्रदर्शनका सहभागीहरूले अदालतको निर्णय गलत रहेकोले भन्दै सच्चाउन माग गरेका छन् । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउँदै लैजानेसमेत बताए।

सर्वोच्च अदालतले तुरुन्तै निर्णय नसच्चाए कडा रुपमा नियमित विरोध कार्यक्रम गर्ने आयोजकको भनाइ छ। बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो।

वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यताअनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो।

Back to top button