गणतन्त्रको सफल कार्यान्वयनमा हामी सबै लाग्‍नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताउनुभएको छ।

१५ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित पूर्वाञ्चाल बालसेवा आश्रममा रहेका आश्रितलाई फलफूल वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि बढ्दै गइरहेको र नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तर पनि वृद्धि भइरहेको बताउनुभयो।

राज्यको कुनै लगानी नभएको तर जनसहयोगबाटै सञ्चालित यस आश्रमको गतिविधिले अन्य सरोकारवाला निकायलाई प्रेरणा मिल्ने धारणा व्यक्त गर्दै उहाँले आश्रमलाई आवश्यक पर्ने सहयोग र सवारी साधनका लागि आगामी बजेटमा व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेलले मुठ्ठी दान र दैनिक रु दुई सङ्कलनबाट आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। विसं २०४४ स्थापित उक्त आश्रममा ८० बालबालिका तथा वृद्धवृद्धाले आश्रय लिइरहेका छन्।

Back to top button