भारतीय दूतावासद्वारा एक गुम्बालाई बस र एम्बुलेन्स सहयोग

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ।

उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ।

नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले हिजो छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै वस र एम्बुलेन्स हस्तान्तरण गर्नुभएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो।

तत्कालीन जिल्ला विकास समितिले विसं २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियो।

जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताउनुभयो।

गुम्बालगायतको संरचना निर्माणमा करिब रु ७ करोड खर्च भएको उहाँको भनाइ थियो। सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ।

यस्तै, कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो।

Back to top button