बक्स अफिसमा नेपाली फिल्म ‘कबड्डी ४’ को कीर्तिमान

काठमाडौं । हिजोदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। ३ करोडभन्दा धेरै कलेक्सन गर्दै फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।

यस्तै,रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले एडभान्स बुकिङबाटै शुरुको दुई दिनमा लगानी सुरक्षित गर्ने देखिएको थियो। पहिलो दिनको सबै शो हाउसफूल थियो भने दोस्रो दिन पनि दर्शकको उत्साहजनक उपस्थितिमा फिल्म प्रदर्शन भइरहेको छ। आज फिल्मले पहिलो दिनको भन्दा बढी कमाइ गर्ने पक्का देखिएको छ।

करिब ३ करोड बजेटमा बनेको फिल्मले पहिलो दिन नै ३ करोडभन्दा बढी कमाइ गरेको हो। कबड्डी ४ को यो कमाइलाई नेपाली फिल्मका लागि शुभ संकेतको रूपमा हेरिएको छ। कोरोना महामारीपछि पहिलेको लयमा फर्कन समय लाग्ने भनिरहेका वेला कबड्डी ४ ले अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ गर्नुले नेपाली फिल्म निर्माता उत्साहित देखिएका छन्।

गत बिहीबार राजधानीमा भव्य समारोह गर्दै प्रिमियर गरिएको फिल्मलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेख्नुभएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यस्तै, कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म ‘कबड्डी ४’ पछि कबड्डीकै पात्र बमकाजीको कथालाई लिएर ‘मास्टर बमकाजी’ बनाउने तयारीमा निर्माण टोली रहेको छ।

Back to top button