भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदै

भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको १ सय १८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ। वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्या बारेमा छलफल हुनेछ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गर्नुभएको पाकिस्तानको पाँच सदस्य प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नुहुनेछ ।

बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि दुवै पक्षले छलफल गर्नेछन्।

त्यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६ सय २४ मेगावाटको किरु आयोजना निर्माणबारे विचारविमर्श गर्ने अपेक्षा गरिएको छ।

पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने सोमबार र मंगलबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यस्तै,पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल भोली भारत प्रस्थान गर्नेछ।

Back to top button