आज सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ ।

सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १५ मिनेटअघि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ।

यही वर्ष संघ र प्रदेशको निर्वाचन समेत रहेकोले त्यसलाई समेत केन्द्रित रहेर सरकारले बजेट कार्यक्रम तयार गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ ।

अर्थ मन्त्रालयले तयार गरेको बजेट वितरणमुखी हुने देखिएको छ। यसमा केही लोकप्रिय निर्णय गर्दै कार्यक्रम छरेर बजेट विनियोजन हुने देखिएको छ।

विशेषगरी आगामी आर्थिक वर्षको बजेटले सामाजिक सुरक्षा भत्तामा विशेष निर्णय गर्ने भएको छ। सामाजिक सुरक्षाअन्तर्गतको वृद्धभत्ता अहिले ७० वर्ष पुगेकालाई ४ हजार रुपैयाँ वितरण गर्दै आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै ६५ वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धालाई भत्ता दिने घोषणा गर्नुभएकाले त्यसलाई यो बजेटले सम्बोधन गर्ने देखिएको छ ।

यस्तै उत्पादनमूलक अर्थतन्त्रको विषयमा बहस भइरहेकोले त्यसलाई समेत सम्बोधन गर्दै उत्पादन र उपभोग दशक मनाउने गरी सरकारले बजेट ल्याउने तयारी गरेको छ ।

Back to top button