मोरङको कटहरीमा एक पुरुषको शव फेला

विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित महेशपुरमा एक पुरुषको शव फेला परेको छ।

गाउँपालिका २ का स्थानीय ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरी शव खेतमा फालिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपककुमार श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार मृतकको अनुहारमा चोटपटक देखिएको छ। मृतकलाई कुटपिट गर्दा मृत्यु भएपछि शव खेतमा फालिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको श्रीमतीले छाडेर गएको र पछिल्लो समय भाइ चित्रकुमारसँग बस्दै आएको खुलेको छ। मृतक श्रेष्ठको सन्तान नभएको बताइएको छ।

कुखुरा फर्म सञ्चालन गर्दै आउनुभएका भाइ चित्रकुमारका अनुसार हिजो राति कुखुरा फर्म जाने भनेर तुलसी घरबाट निस्किनुभएको थियो। त्यस क्रममा उहाँको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक राजन कार्कीको नेतृत्वको टोलीसँग तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ। शव विराटनगरस्थित कोशी अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ।

Back to top button