दुर्घटनाग्रस्त तारा एयरमा सवार सबैको मृत्यु, शव संकलनको काम जारी

काठमाडौं । तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ। शव संकलन गरेपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताउनुभएको छ । १२ जनाको शव भेटिसकेको र अरुको खोज्ने काम भइरहेको उहाँले बताउनुभएको छ ।

हिजो विहान पोखराबाट ९ः ५५ मा मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी जहाज हिजो विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो । उक्त जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदको एक पहाडमा भेटिएको हो ।

जहाजमा पाइलट प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा हुनुहुन्थ्यो भने जर्मनका दुई नागरिक वी विलनर र मेइक ग्रिटग्राफ हुनुहुन्थ्यो । यस्तै भारतीय नागरिकहरु बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठी सोहि जहाजका यात्रु हुनुहुन्थ्यो ।

यस्तै नेपाली यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

Back to top button