द्वन्द्वग्रस्त खार्किभमा जेलेन्स्की, सुरक्षा प्रमुख बर्खास्त

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खार्किभको द्वन्द्वग्रस्त क्षेत्रमा पुग्नुभएको छ ।

त्यहाँ पुगेर उहाँले रुसी फौजविरुद्ध अग्रपंक्तिमा लडिरहेका सैनिकहरुसँग भेट गर्नुभयो। फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीको राजधानी किभबाहिरको पहिलो भ्रमण हो।

जेलेन्स्की बुलेट फ्रुफ टिसर्टसहित खार्किभका भग्नावशेषमा परिणत भएका भवनहरु अगाडि पुगेका तस्बिर सार्वजनिक भएका छन्।

अग्रपंक्तिका सैनिकलाई सेवाको लागि धन्यवाद दिनुभएका जेलेन्स्कीले त्यहाँबाट फर्किएपछि सहरको रक्षा नगरेको भन्दै खार्किभका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ ।

यस्तै, रुसी सेनाले खार्किभका अधिकांश ठूला भवनमा रकेट र मिसाइल आक्रमण गरी ध्वस्त बनाएको छ। रुसी सेनाले बीचमा केही समय आक्रमण गर्न छोडेपछि विस्थापित भएका स्थानीयवासी पुनः खार्किभ फर्किन थालेका थिए। तर पछिल्ला केही दिनयता रुसी सेनाले सबैजसो सहरमा तीव्र आक्रमण गरिरहेको छ।

Back to top button