तारा एयरको दुर्घटना प्रतिकुल मौसमले भएको प्रारम्भिक अनुसन्धान, ५ सदस्सीय दुर्घटना जाँच आयोग गठन

काठमाडौं । तारा एयरको विमान प्रतिकुल मौसमको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।

दुर्घटना जाँच आयोग गठन

सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहनुभएको छ ।

आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्न कार्यादेश दिइएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

Back to top button