बजेट चुनाव लक्षित नभएको अर्थमन्त्री शर्माको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको दावी गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले बजेटमा चुनावी कुरा नराखिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले विपक्षीहरुले चुनावी बजेट भनेर प्रचार गरेको आरोप लगाउनुभएको छ । उहाँले वास्तविक मुलुकको अर्थतन्त्र र मागलाई सम्बोधन गर्नेगरी बजेट ल्याएको जिकिर गर्नुभयो । बजेटले जनताको आवाज बोलेको बताउनुभयो ।

थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिइएको हो भन्दै उहाँले उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हुन्छ र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै तलब बृद्धिलाई चुनावी कुरा भन्न नमिल्ने बताउनुभयो । यस्तै किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताउनुभयो ।

Back to top button