सामाजिक सुरक्षा भत्ता किन ५ हजार नपुर्‍याएकोः बिष्णु पौडेल

काठमाडौं । सरकारले वृद्धभत्ता ५ हजार नपुर्‍याएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ।

बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाउनुभएको छ । उहाँले यतिधेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था भए सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्‍याएको भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्‍याउने भनेपनि अहिले सरकारमा हुँदा माओवादी जिम्मेवारीबाट भागेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ बर्षको उमेर वृद्धभत्ता दिने पक्षमा रहेको उल्लेख गर्दै नेता पौडेलले किन ६८ वर्षमा पुगेको भन्दै प्रश्न गर्नुभयो । सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गर्दा न्यूनतम तलब भएकाहरुको समस्या समाधान गर्न नसक्ने समेत उहाँले बताउनुभयो ।

यस्तै उहाँले नेकपा एमालेले बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ । एक हजार २०० मेगावाट क्षमताको आयोजनालाई छुट्याइएको बजेटबारे एमाले नेता विष्णु पौडेलले जानकारी माग्नुभएको छ ।

सरकारलाई प्रश्न गर्दै उहाँले भन्नुभयो,‘बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएको छ तर कति बजेट छुट्याइएको छ ?’

Back to top button