![](https://koshisandesh.com/wp-content/uploads/2022/05/pathari.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/05/pathari.jpg)
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको कार्यपालिका सदस्यका रुपमा महिला, दलित वा अल्पसंख्यकका तर्फबाट निर्वाचित ८ जनालाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयको आयोजना गरेको कार्यक्रममा, नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्लेको उपस्थितीमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
निर्वाचन अधिकृत खगेन्द्र सुवेदी र सहायक अधिकृत पूण्यप्रसाद पौडेलले नगर प्रमुख तुम्वापोकै अगुवाईमा प्रमाणपत्र वितरण गर्नुभएको छ ।
१० वडा रहेको नगरमा नेकपा एमालेको बहुमत सदस्य निर्वाचित रहेपछि कार्यपालिकाको महिला, दलित वा अल्पसंख्यकका रुपमा एमालेबाटै ८ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यपालिका सदस्यमा, नेपाली कांग्रेसबाट महिला, दलित र अल्पसंख्यक गरी ३ जनाको उम्मेदवारी दर्ता गराएपनि उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध रुपमा एमाले प्यानलका सदस्य निर्वाचित हुनुभएको हो ।
यस अघि वडा सदस्यमा निर्वाचित कल्पना श्रेष्ठ, तुलसा कार्की (मुना), मिनाकुमारी तामाङ, शान्ता योङहाङ र सीता दर्जी महिला सदस्यका रुपमा कार्यपालिकामा निर्विरोध निर्वाचित वन्नु भएको छ ।
त्यस्तै, अञ्जना दर्जी, पदमबहादुर धिमाल र वीरध्वज नेपाली शिवा दलित वा अल्पसंख्यकतर्फबाट कार्यपालिका सदस्यमा मनोनित भई निर्वाचित हुनु भएको छ ।
वडाध्यक्षहरुको समेत उपस्थितीमा रहेको कार्यक्रममा निर्वाचन अधिकृत सुवेदी र सहायक अधिकृत पौडेललाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । नगरमा एमालेबाट नगर प्रमुख, उपप्रमुख सहित ३४ जना र नेपाली कांग्रेसबाट १८ जना निर्वाचित हुनुभएको छ ।