केहिदिनभित्रै मनसुन नेपाल भित्रने, अधिक वर्षाको सम्भावना

काठमाडौं । नेपालमा केहिदिन भित्रै मनसुन भित्रने पूर्वानुमान गरिएको छ ।

नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरूको भनाई रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जनाएको छ। सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको करिब एक सातामा नेपालमा पनि सुरु हुने गरेको भन्दै मौसमविद् राजु प्रधानाङ्गले त्यसको आधारमा केहिदिन भित्रै मनसुन सुरु हुनसक्ने बताउनुभएको छ । केरलामा मनसुन सुरू भइसकेको छ।

नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ।

पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ। हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुन सुरु भएपछि भने यस वर्ष औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ ।

तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको मौसमविदहरुको भनाई छ ।

गत वर्ष मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

Back to top button