कांग्रेसलाई पनि एमाले जस्तै ठेगान लगाउनु नपरोसः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले पनि दम्भ देखाए एमालेलाई झैं ठेगान लगाउने चेतावनी दिनुभएको छ ।

आज काठमाडौँमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताउनुभएको छ ।

स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाउने चेतावनी दिनुभएको हो । आफुहरुले धेरै मेहनत गरेरै बनाएको प्रधानमन्त्री होभन्दे उहाँले अहिले पनि उहाँ भइराख्नुस् भन्ने इच्छा रहेको बताउनुभयो ।

यद्यपी कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन, अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्ने ठान्यो भने एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई पनि लगाउने दिन नआओस अध्यक्ष दाहालले भन्नुभयो । दाहालको यस्तो अभिव्यक्तिलाई आउँदो संघ र प्रदेशको चुनावका लागि बार्गेनिङका रुपमा लिइएको छ।

‘माओवादीले कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो,‘तर जसले दम्भ देखायो, त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ।’ उहाँले माओवादीको अनुहारका रुपमा पार्टीबाट निर्वाचित १२१ प्रमुख र १३० जना उपप्रमुख भएकाले त्यसलाई ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । ‘माओवादीको अनुहार भनेको हाम्रा जनप्रतिनिधि हुन्।

पहिलाजस्तो हामीसँग जनसेना छैन, मिलेसिया पनि छैन, जन सरकार पनि छैन, जनताले माओवादी भनेर चिन्ने तपार्ईंहरुलाई नै हो,’ उहाँले भन्नुभयो ।

Back to top button