सरकारले तत्काल जनतालाई मूल्यवृद्धिको मारबाट जोगाउनुपर्छ : पुष्पा भुसाल

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नुपरेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जा लगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँले आयातित वस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु–हिजो १० रुपैयाँ टयाक्स घटाएको जुन निर्णय भएको छ। त्यसलाई सकारात्मक रुपमा लिएको छु। त्यसलाई म धन्यवाद पनि दिन चाहन्छु। र यो घटाउने क्रमलाई निरन्तरता दिइयोस् भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउनुभयो।

Back to top button