अर्थमन्त्री शर्माको नामलाई लिएर संसदमा एमालेको नियमापत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्रीको नामलाई लिएर नियमापत्ति गरेको छ। एमाले सांसद कृष्णभक्त पोखरेलले अर्थमन्त्री जनार्दन शर्मा हो कि जनार्दन शर्मा ‘प्रभाकर’ हो भनी प्रश्न गर्नुभएको हो ।

प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ति गर्नुभएको थियो ।

‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को नामको व्यक्तिले प्रस्तुत गर्ने, जवाफ अर्को व्यक्तिले दिन मिल्छ र?’ उहाँले भन्नुभयो, ‘सम्माननीयजी मैले त दुईवटा फरक नाम आए पनि उस्तै–उस्तै अनुहार भएकोले मानौँला, बजेट पनि कहीँ जनार्दन शर्माजस्तो कहीँ प्रभाकरजस्तो देखिन्छ त्यो पनि मानौँला, तर सम्माननीयज्यू भोलि इतिहासविद्ले अध्ययन गर्दा के होला? हामी कस्तो प्रणालीमा जाँदैछौं? यसमा सम्मानीयज्युले प्रष्ट जवाफ दिनुपर्छ।’

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पार्नुभयो। ‘मैले अनुमति दिने क्रममा माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा भनेको छु, त्यही नै आधिकारिक, औपचारिक र संस्थागत हो’ उहाँले भन्नुभयो ।

Back to top button