स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम दिँदै एमाले मोरङ

निशा दाहाल,

विराटनगर । नेकपा एमाले मोरङले स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको छ ।

विराटनगर स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा आयोजित अभिमुखिकरणमा स्थानीय तह सञ्चालन सम्बन्धि विषयको प्रशिक्षण विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता ताराबहादुर काफ्लेले दिनुभएको छ ।

उहाँहरुले स्थानीय तह सञ्चालनका क्रममा हुनुपर्ने आवश्यक ज्ञान, अवलम्बन गर्नुपर्ने विषय, स्थानीय तहको क्षेत्राधिकारलगायतका विषयमा जानकारी गराउनुभएको छ ।

यस्तै पार्टीका घोषणापत्र, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्ष र जनताको भावनालाई पूरा गर्न निर्देशन दिँदै यी विषयमा नेकपा एमालेका स्थायी समिति सदस्य गुरु बराल, भानुभक्त ढकाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज विनोद ढकाललगायतले प्रशिक्षण दिनुभएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रमको औचित्य प्रष्ट्याउँदै नेकपा एमालेका अध्यक्ष ऋषिकेश पोखरेलले निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीले तयार पारेको स्थानीय तह जनप्रतिनिधि आचार संहिता– २०७९ लाई अक्षरस पालना गर्न आग्रह गर्नुभयो ।

यसैबिच कार्यक्रममा उपस्थित सम्पूर्ण जनप्रतिनिधि तथा अतिथिहरुलाई प्रेस चौतारी मोरङले बधाई ज्ञापन गर्दै रुद्राक्षको माला लगाईदिएको छ ।

जनप्रतिनिधिहरुलाई सुशासन कायम गर्न उर्जा मिलोस् भन्ने उद्देश्यका साथ रुद्राक्षको माला लगाईदिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले बताउनुभयो ।

Back to top button