मनसुन भित्रिएपछि प्रदेश १ सरकार सम्भावित क्षति न्यूनिकरणका लागि छलफलमा

विराटनगर । मनसुन भित्रिएको केहिदिनपछि पूर्व तयारी स्वरुप प्रदेश १ सरकारले सरोकारवालासँग छलफल थालेको छ । प्रदेश १ सरकारले आज मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनाका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा आयोजीत अन्तरक्रियामा मनसुनजन्य क्षती हुन नदिन र भईहाले उद्धार कसरी प्रभावकारी बन्न सक्छ भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।

मौसमविद्हरुले यस वर्ष औसत भन्दा अधिक वर्षा हुने पूर्वानुमान गरिरहेका बेला हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै प्रतिकार्यमा सबै क्षेत्रका प्रतिनिधिहरू जुट्नुपर्नेमा सहभागीले जोड दिएका छन् । छलफलमा सुरक्षा निकायका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी क्षेत्रका प्रतिनिधिले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक(डिएसपी) सुनिल राईले विपतको प्रतिकार्यका लागि प्रदेश १ का तराईका जिल्लामा डिएसपी तथा पहाडी जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । विपद् घटनाको पहिलो सूचना नै प्रहरी समक्ष पुग्ने भएकाले प्रहरी तैनाथी अवस्थामा रहेको बताउनुभयो ।

प्रदेशका तीन ओटै सुरक्षा निकायका प्रतिनिधिले सबैको सहयोगमा उद्धार तथा राहतका काम छिटो गर्न सकिने धारणा राख्नुभएको छ । सरोकारवाला निकायका प्रतिनिधिले विपद्को पूर्व तयारीले नै क्षतिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने बताएका छन् ।

भौतिक संरचना निर्माण गर्दा विशेष ख्याल गर्न सक्दा पनि विपद्को जोखिम कम हुने सहभागीहरुको धारणा थियो । खोला मिचेर संरचना बनाउने, जथाभाबी उत्खनन् गर्ने कार्यले जोखिम बढाउँदै लगेको भन्दै त्यस्ता विषयलाई ख्याल गर्न सक्दा र भौतिक संरचना निर्माण गर्दा ध्यान दिन सक्दापनि क्षती न्यूनिकरणमा सहयोग पुग्ने सहभागीहरुले बताएका छन् ।

मन्त्रालयले नागरिकलाई सुरक्षित राख्न कालागि सम्बन्धित मन्त्रालयलाई आफ्नो क्षेत्राधिकार भित्रबाट काम गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले नागरिकको सुरक्षा र आवश्यक पर्ने उद्धार तथा राहतका लागि तत्–तत् निकायबाट काम गर्न निर्देशन दिनुभयो ।

उहाँले विपत हुनुपूर्व नागरिकलाई सुसुचित गर्ने र विपत् भइहाले तत्काल उद्धार तथा राहतको काममा एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

Back to top button