संङ्घीयता र लोकतन्त्रको रक्षा गर्ने पार्टी एमाले भन्ने जनताले बुझेका छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संङ्घीयता र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेकपा एमाले भन्ने कुरा जनताले राम्ररी बुझेको बताउनुभएको छ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले नेकपा एमालेले लोकतन्त्रको रक्षा गर्दै संविधान निर्माणमा खेलेको भूमिकाको विषयमा जनताले राम्ररी बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेकपा एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएको कारणले पनि संसदीय निर्वाचनमा जनताले पहिलो पार्टी बनाउँछन् ।’

आगामी प्रदेश र संसदीय निर्वाचनमानेकपा एमाले सबैभन्दा ठूलो पार्टी हुने विश्वास ब्यक्त गर्नुभएका अध्यक्ष ओलीले आगामी निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभयो । उहाँले मुलुकमा नेकपा एमाले मात्र वामपन्र्थी पार्टी रहेको भन्दै अन्य पार्टीहरु वामपन्थी नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्ताहरुलाई पार्टीमा आए समाहित गर्ने बताउनु भयो । उहाँले विगतमा पार्टीले संसद विघटन गरी नयाँ निर्वाचनको नयाँ मिति घोषणा गर्नु प्रतिगमन नभएको जिकिर गर्नुभएका ओलीले जनताको जनादेश लिने विषय प्रतिगमन हुनै नसक्ने बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफुले अन्य पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउने कुनै आश्वासन नदिएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको अवस्था तय नगर्ने भन्दै सिट संख्याको हिसावले केही कम भएर दोसो भएपनि लोकप्रिय मतको हिसावले नेकपा एमाले नै ठूलो पार्टी भएको दावी गर्नु भयो ।

एमाले अध्यक्ष ओलीले देशभक्त, लोकतान्त्रि, भ्रष्टाचार मुक्त अभियान चलाउने एमालेलाई पालिका निर्वाचनमा हराउन अन्य ६–७ वटा पार्टीले गठबन्धन गरेपनि अत्याधिक स्थानमा एमालेका उम्मेदवार विजयी भएको बताउनु भयो ।

Back to top button