आन्दोलनरत विराटनगर उद्योगी–मजदुरद्वारा मार्चमास र मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेस

निशान्त ढुङ्गाना,

विराटनगर । नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिमित ब्यापारिक घरानालाई पोस्ने नीति लिएको भन्दै आन्दोलित मोरङ–सुनसरी कोरिडोरका उद्योगी–मजदुरहरुले प्रदेश नं १ को मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

आज मोरङ व्यापार संघको सचिवालय कार्यालयबाट निस्केको उद्योगी–मजदुरको मार्चपास नगरपरिक्रमा पछि मुख्यमन्त्रीको कार्यालय पुगेको थियो । टोलीले मुख्यमन्त्री कार्यालयमा प्रदेशका मुख्य सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले केन्द्रीय सरकारले इ–बिलिंगमा लागु गर्न चाहेको नयाँ प्रावधान र जी.आई. वायर, घ्यूतेल उद्योग र सेनीटरी उद्योगको कच्चा पदार्थमा बढाएको भन्सार दरले उद्योग सञ्चालन गर्न असहज बनाएकोले उद्योगी र मजदुर आन्दोलनमा उत्रनु परेको बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघ , प्रदेश नं १ का अध्यक्ष भिम घिमिरेले आन्दोलनमा रहेको उद्योग संघ–संगठनका प्रतिनिधिलाई अर्थमन्त्रीले वार्ताको लागि काठमाडौँ बोलाएकोले केहि सकारात्मक कदम चालिने विश्वास आफुहरुले लिएको र प्रदेश सरकारले पनि केन्द्रमा समस्या समाधानको लागि पहल गरिदिनु पर्ने बताउनु भयो ।

ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यसचिव डा.रामप्रसाद घिमिरेले केन्द्र सरकारले छिट्टै उद्योगी–मजदुरको समस्या समाधान गर्ने आफुले विश्वास लिएको र प्रदेश सरकारले पनि समस्या समाधानको लागि केन्द्रमा पहल गर्ने जानकारी गराउनु भएको थियो।

तीन वटै संगठनले प्रदेश १ को राजधानी विराटनगरमा गत बुधबारदेखि ज्ञापनपत्र, धर्ना, जुलुसलगायतका कार्यक्रममार्फत बजेटका प्रावधान विरुद्ध दवाव सिर्जना गर्दै आएका छन् ।

यसैबिच आन्दोलनरत उद्योगीहरुलाई अर्थमन्त्री जनार्दन शर्माले वार्ताका लागि बोलाउनुभएको छ । अर्थमन्त्रीको आह्वानसँगै आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका नेताहरु काठमाडौं पुग्नुभएको छ ।

मोरङ व्यापार सँघका अध्यक्ष नविन रिजालले आफुहरु काठमाडौं आइपुगेको र ३ बजे अर्थमन्त्रालयमा वार्ताका लागि पुग्ने बताउनुभएको छ । उहाँले अर्थमन्त्रीसँगको वार्ताबाट समस्याको निकास निस्कने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

Back to top button