माओवादीले प्रधानमन्त्री देउवाको भ्रमणबारे प्रश्न उठाउनु सामान्य विषय होइन: सांसद ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदिप ज्ञवालीले सत्ता घटक माओवादी केन्द्रले नै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे प्रश्न उठाउनु सामान्य विषय नभएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्ञवालीले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीको अमेरिका भ्रमण आवश्यक नभएका टिप्पणी गरेपछि त्यसको जवाफ खोज्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘दुईदिन अघि सत्ता गठबन्धनको एक घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको विषयलाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ। संसदीय व्यवस्थामा सत्ता पक्षका प्रमुख सचेतकको आवाजलाई आधिकारिक मानिन्छ। सत्तापक्षकै एउटा घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय भनेको सामान्य विषय हो जस्तो लाग्दैन।’

उहाँले प्रधानमन्त्री अमेरिका भ्रमण कुन आधारमा हुँदैछ? भन्ने बिषयमा संसदमा अविलम्ब जानकारी गराउन समेत माग गर्नुभयो।

‘यो विषयलाई कसरी बुझ्ने? सत्ता गठबन्धनको आन्तरिक विवाद वा असमझदारी मात्रै हो? या यो भ्रमणसँग जोडिएका महत्वपूर्ण विषय छन्। जसबारे सत्ता घटकबीच छलफल चलिरहेको छ। त्यस विषय उठाउनुपर्छ भन्नेमा प्रमुख सचेतक रहनुभयो। प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने यसको स्ट्याचर के हो?’ उहाँले भन्नुभयो।

सांसद ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे प्रमुख प्रतिपक्ष बेखबर भएको समेत बताउनुभयो।

‘प्रमुख प्रतिपक्ष त यस विषयमा बेखबर नै छ किनभने लामो समय भयो यस्ता गम्भिर प्रश्नहरूमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन, ऊ सँग परामर्श लिने, सुझाव लिने र राष्ट्रिय समझदारी बनाउने यो चलन वर्तमान सरकारले छोड्दै गएको छ। भ्रमण राजकीय हो कि? आधिकारिक हो कि? सद्भावना मात्रै हो कि? कुनै अफिसियल या कुनै बिजनेश लाइक हो कि? त्यस सम्बन्धमा हामीलाई जानकारी छैन, छलफलका विषयहरु के हुन्? त्यहाँ कुनै समझदारीहरू हुँदैछन्? हुँदैछन् भने के विषयमा हुँदैछन्? यस विषयमा प्रमुख प्रतिपक्ष बिल्कूल बेखबर छ। प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन। यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहान्छु’उहाँले भन्नुभयो ।

Back to top button