विराटनगरमा मनाइयो कबीर जयन्ती

विराटनगर । विराटनगरमा ५६८ औं कबीर जयन्ती मनाइएको छ। विराटनगरस्थित बाटा रोडमा रहेको गुरु कबीर स्थानमा भेला भएर मोरङ–सुनसरी आसपासका कबीरपन्थीहरुले ५६८ औ कबीर जयन्ती मनाएका हुन्।

विराटनगर बाटा रोडमा रहेको गुरु कबीर स्थानमा भेला भएका कबीरपन्थीहरुले कबीरको पूजा–आराधना, भजन–प्रवचन गरि, महात्माहरुलाई भोजन–भण्डारा गराई, दान–दक्षिणा दिएर कबीर जयन्ती मनाएका हुन् । कबीर पन्थमा विश्वास राख्नेहरु गुरुहरुलाई ‘महात्मा’ भन्ने गर्छन।

कबीर जयन्तीको कार्यक्रममा भाग लिन बुढीगंगा बाट ३ जना महात्मा, सीतापुर बाट १ जना महात्मा, हरिनगर बाट १ जना महात्मा आउनुभएको र विराटनगर बाट १ जना महात्माको सहभागिता रहेको कार्यक्रमका आयोजक रहनुभएका बाबुप्रसाद यादवले बताउनु भयो।

हरेक बर्ष जेठ पुर्णिमामा पर्ने कबीर जयन्तीलाई यस पटक भने विराटनगरमा दुई दिन अगाडीनै मनाइएको यादवले जानकारी दिनुभयो।

यादवको अनुसार काटमार नगर्ने, छुवाछुत नगर्ने र अंगदानलगायत कुरालाई मूल आदर्श मान्ने कबीरपन्थीहरु मोरङ जिल्ला भित्र लगभग १ हजारको संख्यामा रहेको यादवले बताउनुभयो ।

१५ औं शताब्दीका निर्गुण भक्ति परम्पराका समाजसुधारक कवि कबीरको विचारमा आस्था राख्नेहरु आफुलाई कबीरपन्थी भन्न रुचाउँछन्। कबीरपन्थीहरु जेठ पुर्णिमामा पर्ने कबीर जयन्ती र असार पुर्णिमामा पर्ने गुरु पुर्णिमालाई भव्यरुपमा मनाउने गर्दछन् ।

Back to top button