एसपीपीबारे छलफलका लागि बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनुभएको छ ।

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले उहाँ आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताउनुभयो।

हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराउनुभएको खरेलको भनाइ छ । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उहाँले बताउनुभयो।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी हुनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताउनुभएको थियो।

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।

Back to top button