एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीपः बहराईनलाई १४ रनमै समेट्यो नेपालले

काठमाडौं । एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीप क्रिकेटमा नेपालले १५ रनको झिनो विजयी लक्ष्य पाएको छ।

मलेसियाको किनरारा ओभलमा टस हारेको बहराइनले ६ विकेटको क्षतिमा जम्मा १४ रन बनाउन सफल भयो । वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको छ।

बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो। बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिनुभयो भने सवनम राईले एक विकेट लिनुभएको छ ।

यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिएको छ। आजको खेलमा जित निकाल्दा नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गर्नेछ ।

समूह बी को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो।

नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन् ।

Back to top button