
काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल खेल खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको झिनो लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट क्षतिमा प्राप्त गर्यो ।
नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाउनुभयो । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो । बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाउनुभएको थियो । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिनुभयो ।
त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिष्पर्धा गर्नेछ ।