एसिसी महिला टी–२० च्याम्पियनसिपः नेपाल हङकङसँग पराजित, सेमिफाइनलमा युएईसँग भिड्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको छ । नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।

अब नेपालले सेमिफाइनलमा उपाधिको दाबेदार मानिएको बलियो प्रतिष्पर्धी युएईविरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको छ। हङकङविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले १सय १० रनको लक्ष्य दिएको थियो। जवाफमा हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाउनुभयो । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबिडब्ल्यु आउट हुनुभयो । ओपनर मेरिकालाई संगिता राईले आउट गर्नुभएको थियो ।

नताशा माइल्स २८ रनमा र तथा सानेज सहजाद ४ रनमा अविजित रहनुभयो । क्लेरी च्यान १७ रनमा संगिता राईबाट आउट हुनुभयो । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिनुभयो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाउनुभयो भने विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाउनुभयो ।

खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिनुभयो भने मरियम बीबी र एलिशा हर्बडले १/१ विकेट लिनुभयो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ। समूह ‘ए’ को विजेता युएई हो।

Back to top button