ललितपुरमा घाइते जनावरलाई अस्पताल पुर्‍याउन भेटरीनरी एम्बुलेन्स सुरु

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन आजदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।

आज महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।

‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेका हौं’ उहाँले भन्नुभयो ।

स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताउनुभयो । ‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ’ उहाँले भन्नुभयो।

यस्तै, उहाँले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिनुभयो। ललितपुर महानगरपालिकाले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक,गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।

Back to top button