विराट हेल्थ कलेजले लिएको अतिरिक्त शुल्क सहमतिपछि फिर्ता

विराटनगर । विराट हेल्थ कलेजले सिटिईभिटीले तोकेको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै आज विद्यार्थीहरुले विरोध गरेका छन् ।

विद्यार्थीको विरोधपछि अनेरास्ववियु जिल्ला कमिटीको रोहबरमा छलफल गरि विवाद मिलाइएको छ । कलेजले चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) को नाममा ७ हजार ५ सय रुपैयाँ मागेको विद्यार्थीहरु विरोधमा उत्रिएका थिए ।

सिटीईभिटीले निर्देशन गरे अनुसार कोरोनाको अवधिमा दिनुपर्ने  १५ प्रतिशत छुट दिने भनिएको थियो । तर उक्त १५ सय छुट दिएजस्तै गरेर चारित्रिक प्रमाणपत्रको नाममा चर्को शुल्क उठाएको पाइएपछि विरोधमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।

अनेरास्ववियुको नेतृत्वमा क्याम्पसका प्रतिनिधिहरुसँग तीन बुँदे सम्झौता गरि विवाद मिलाइएको छ । क्याम्पस प्रमुख बाहिर जानुभएकाले उपलब्ध क्याम्पस प्रतिनिधिसँग छलफल गरि ३ बुँदे सम्झौता गर्दै विवाद समाधान गरिएको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार अनेरास्ववियु मोरङ, विद्यार्थी र अभिभावकसहित क्याम्पस प्रतिनिधी बिच भएको छलफलमा बिना शुल्क चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने, कोरोनाको अवधिमा भएको अनलाईन कक्षाबापतको १५ प्रतिशत रकम क्याम्पस प्रमुखसँग छलफल गरेर उपलब्ध गराउने र हालसम्म विद्यार्थी बाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको हो ।

सहमतिमा अनेरास्ववियु मोरङका अध्यक्ष घिमिरे, कलेजका लेखा प्रमुख रामेश्वर कामत र अभिभावक कमल रेग्मीले हस्ताक्षर गर्नुभएको छ । सहमति पछि क्याम्पसले अतिरिक्त  रकम फिर्ता गरेको र आजै १५ जना विद्यार्थीले निशुल्क चारित्रिक प्रमाणपत्र निकालेको घिमिरेले जानकारी दिनुभयो ।

Back to top button