सरकारले आश्वासन दिएपनि प्रकृया अघि नबढाएको भन्दै सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी आन्दोलित

विराटनगर । मोरङ सुनसरी औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

आर्थिक विधेयक २०७९/०८० मा गरिएको त्रुटिपूर्ण व्यवस्थाका कारण मुलुकका कतिपय उद्योगहरु धरापमा परेको भन्दै नेपाल उद्योग परिसङ्घ प्रदेश १, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।

यसअघि पनि आन्दोलनमा उत्रिएका उद्योगी मजदुरहरु सरकारले विधेयकमा भएका त्रुटिलाई प्रक्रियागत रूपमा सच्याउने आश्वासन दिएपछि आन्दोलन स्थगित गरेका थिए ।

सरकारले जेठ २७ गते उद्योगीका प्रतिनिधिसँगको वार्तापछि आर्थिक विधेयकका त्रुटिलाई सच्याउने आश्वासन दिएपनि अहिलेसम्म कुनै कदम नचालेको भन्दै मोरङ ब्यापार सँघका अध्यक्ष नविन रिजालले पुनः दोस्रो चरणको आन्दोलनलाई अघि बढाउन बाध्य हुनु परेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयको त्रुटिका कारण जि.आई वायर उद्योग, वनस्पति ध्यूतेल उद्योग, सेनिटरी प्याड उद्योगलगायतका उद्योगहरु धरापमा परेको उद्योगीहरुले गुनासो गर्दै आएका छन् ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत पहिलो दिन आज कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगङ्गा गाउँपालिकाको गोकुवा चोकस्थित विराटनगर–धरान सडकखण्डमा विरोध तथा कोणसभाको कार्यक्रम राखिएको छ ।

उद्योगी व्यवसायीका समस्यामा सरकार मौन रहेकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य हुनुपरेको अध्यक्ष रिजालको भनाइ छ ।

उद्योगी व्यवसायीको आन्दोलनमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), नेपाल ट्रेड युनियन काङ्ग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, सामाजवादी ट्रेड युनियन महासङ्घ लगायतका मजदुरआवद्ध सङ्घ संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

Back to top button