फिफा वरीयतामा नेपाल ८ स्थानले तल झर्यो

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १ सय ७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

नेपालले एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो । यस वर्ष भने प्रेबुअरीमा १ सय ६७ औं स्थानमा रहेको नेपाल मार्चमा एक स्थान तल झरेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १ सय ४ औं र माल्दिभ्स १ सय ५६ औं स्थानमा छ । नेपाल भन्दा पछि रहेका भुटान १ सय ८६ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९६ औं र श्रीलंका २ सय ७ औं स्थानमा छन् ।

यस्तै, विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत रहँदा अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ । फ्रान्स चौथो स्थानमा झर्दा इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ ।

यसैगरी स्पेन छैटौं, इटली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा छन् । एसियाली राष्ट्रहरुमा अघि रहेका इरान २३ औं र जापान २४ औं स्थानमा छन् ।

Back to top button