मोरङमा अध्यक्षका छोराले फुटाए ग्रामथान गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा माफी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योति गच्छदारले बाबुको रिसमा सरकारी गाडी तोडफोड गर्नुभएको छ ।

गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गर्नुभएको हो ।

गत मंगलबार तोडफोड गर्नुभएको उहाँले बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर उहाँलाई माफी दिइएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिनुभयो ।

ज्योति गाउँपालिका अध्यक्ष जयप्रकाशको एक्लो छोरा हो। गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न गत मंगलबार गाउँ कार्यपालिकामा बैठक बसेको थियो । बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिनुभएको थियो।

एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

‘एक पटक गल्ती भयो भनेपछि कारवाही प्रक्रिया अघि नबढाउने सहमति भयो,’ बैठकमा सहभागी एक जनप्रतिनिधिले भने, ‘बुबाको रिसले सरकारी गाडीमा क्षति पु¥याउनु गलत हो ।’

पालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताउनुभयो । उहाँले अब तोडफोड गरे कारवाही हुने बताउनुभयो । ‘माफी मागेपछि एक पटकलाई कागज गरेर माफी दिइएको छ,’ उहाँले भन्नुभयो, ‘फेरि यस्तो घटना दोह्रोर्‍याएर कारवाही हुन्छ ।’

Back to top button