अर्थमन्त्रीको राजिनामा माग्दै विराटनगर उद्योगी–मजदुरको आन्तरिक राजस्व कार्यालयमा धर्ना (भिडियोसहित)

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय अर्थनीतिको माध्यमबाट सिमित उद्योगी पोस्ने नीति लिएको भन्दै विराटनगरका उद्योगी र मजदुरहरुले अर्थमन्त्रीको राजिनामा माग गरेका छन्।

आज विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ , नेपाल उद्योग परिसंघ , प्रदेश नं १ र सबै प्रमुख राजनीतिक दलको ट्रेड युनियनमा आबद्ध मजदुर तथा उद्योगका मजदुरहरुले आन्तरिक राजस्व कार्यालय विराटनगर अगाडी धर्ना दिदै अर्थमन्त्रीको राजिनामा माग गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेटमा सिमित उद्योगी तथा व्यापारिक घरानालाई पोस्ने नीति लिएर स्वदेशी जी.आई. वायर उद्योग, वनस्पति घ्यू उद्योग र स्यानिटरी प्याड उद्योगलाई धरासायी बनाउन खोजेको आरोप उद्योगी–मजदुरले लगाएका छन्।

धर्नामा बोल्दै मोरङ व्यापार संघका महासचिव अनिल शारडाले अर्थमन्त्रीले आफुहरुलाई पटक–पटक अश्वासन दिएको तर समय माग गर्दै समस्या समाधान गर्न भन्दा यथास्थितिमा रमाएको आरोप लगाउनुभएको छ। शारडाले जगदम्बा वायर उद्योगलाई बजेटको मार्फत छुट दिएर अर्थमन्त्रीले नीतिगत भ्रष्टचार गरेकोले अर्थमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।

नेपाल उद्योग परिसंघ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेले उद्योगीहरु पछिल्लो पटक सडकमा आउँदा गणतन्त्र आएको स्मरण गराउँदै फोरी पनि उद्योगी–मजदुरको माग सुनुवाई नभए अर्थतन्त्र तहसनहस हुने गरि आन्दोलन गर्ने र त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिनुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले बजेटको पूर्व सन्ध्यामा उद्योगीसँग सुझाव लिएको नाटक गर्ने र आधा रातमा मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण गर्ने अर्थमन्त्रीलाई पदमा बस्ने अधिकार नभएको धारणा व्यक्त गर्नुभयो।

समाजवादी ट्रेड युनियनका नेता मो.सदरुलले गठबन्धनको सरकार भएको र आफुहरुको पार्टी पनि सरकारमा रहेको तर सरकारले उद्योग–मजदुर मार्ने नीति ल्याएकोले आफुहरु चुप लागेर नबस्ने बताउनु भयो ।

बजेटको विभेदकारी नीति विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका उद्योगी–मजदुरहरुले पहिलो दिन हिजो मोरङको बुढिगंगा गाउँपालिका अन्तर्गत कोसी राजगर्माको गोकुवा चोकदेखि नेमुवासम्म प्रदर्शन गरेका थिए ।

आज दोस्रो दिन आन्तरिक राजस्व कार्यालय विराटनगर अगाडी धर्ना दिएका हुन् ।

Back to top button