आ.व. २०७९/८० का धरान उपमहानगरको बजेट १ अर्ब ६८ करोड

धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ। आज धरानको ११औं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्नुभएको छ ।

कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ र पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

आगामी आ.व.का लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट ८३ करोड ४ लाख प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार संघीय राजस्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताउनुभएको छ ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ।

धरानका २० वटै वडाहरुमा प्रशासनिक तर्फ २ करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ २९ करोड रकम विनियोजन गरिएको छ। सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाखर शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ।

स्वास्थ्य तर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ।

पर्यटन तर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला सँस्कृति तर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै मेयर कोषमा १ करोड २० लाख उपमेयर कोषमा ८० लाख बिनियोजन गरिएको अन्नपूर्णमा प्रकाशन गरिएको छ ।

Back to top button