गायिका दिलमाया सुनार मृत फेला

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला पर्नुभएको छ । प्रहरी वृत्त बालाजुका अनुसार हिजो पौने ११ बजे सुनार कोठामै मृत अवस्थामा भेटिनुभएको हो ।

घर सुर्खेत भएतापनि उहाँ काठमाडौंको नेपालटारमा डेरामा बस्दै आईरहनुभएको थियो । हिजो राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उहाँले फेसबुकमा स्टाटस पनि लेख्नुभएको थियो ।

यस्तै, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उहाँको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य हिजो बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाउनुभएको छ ।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उहाँ उत्कृष्ट घोषित हुनुभएको थियो । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उहाँको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताउनुभएको छ ।

Back to top button