‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ ।

गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । आगामी २०७९/०८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “एमबिबिएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ, प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।”

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

Back to top button