रामचन्द्र पौडेलको कटाक्षः नारा समाजवादको, व्यवहार घोर प्रतिक्रियावादी र सामन्तवादीको

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एकिकृत समाजवादी) लाई लक्षित नारा एउटा व्यवहार अर्को भएको भन्दै कटाक्ष गर्नुभएको छ ।

उहाँले गर्दै ६/६ महिनामा पार्टी फेर्ने निर्णयमा आपत्ति जनाउँदै पालो पुर्‍याउने चरित्र घोर प्रतिक्रियावादी र सामन्तवादी भएको टिप्पणी गर्नुभएको छ । ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले भन्नुभयो,‘सबैको पालो पुर्‍याउनुपर्ने मन्त्री बन्नलाई ? कहाँ त्यस्तो हुन्छ ? सबैलाई पालो पुर्‍याउने कुरा हुँदैन ।’

कार्यक्रममा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नामै लिएर उहाँले भन्नुभयो,‘समाजवादको कुरा गरेर, रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? नारा समाजवादको फलाक्ने, काम घोर प्रतिक्रियावादी र समान्तवादी गर्ने ?’

नेता पौडेलले विरोधाभाषले सबैलाई डुबाउने भन्दै त्यसबाट बच्न आचरण र व्यवहार मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ ।

शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झार्नुभएको थियो ।

Back to top button