गठबन्धन बनेदेखि राष्ट्रियतामा खतरा बढ्यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन बनेपछि राष्ट्रियतामाथि खतरा बढेको बताउनुभएको छ ।

सत्ता गठबन्धनमा रहेको दल एकिकृत समाजवादीका सम्मानित नेता उहाँले ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै सत्ता गठबन्धन बनाएपछि राष्ट्रियता झनै कमजोर बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ राष्ट्रियता बलियो बनाउँछौं जस्तो लागेको थियो। सुदृढ हुँदै जान्छजस्तो लागेको थियो। तर गठबन्धनको सरकार बनेदेखि राष्ट्रियतामाथि झन् झन् खतरा बढेको देखिन्छ।’

राजदूत नियुक्ति, रुस–युक्रेन युद्धमा नेपालको वक्तव्य र एमसीसी ज्वलन्त उदाहरण भएको स्पष्ट पार्दै उहाँले यो सरकार बन्ने वित्तिकै प्रधानमन्त्रीले पश्चिमा तीनटा मुलुकको राजदूत नियुक्ति गरेको र चीन र जापानको नगर्नुमा आशंका ब्यक्त गर्नुभयो ।

चीन र भारत विश्वकै शक्तिशाली राष्ट्र बन्दै गएको उल्लेख गर्दै २१औं शताव्दीको पावर हाउसको बीचमा रहेर परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न पर्दैन ?

भन्दै प्रश्न गर्नुभयो । परराष्ट्र सम्बन्धि कुनै वक्तव्य जारी गर्नुअघि गठबन्धनमा छलफल चलाउनु पर्नेमा जोड दिनुभएका नेता खनालले एसपीपी रोक्न सफल भएकोमा नेताहरुलाई धन्यवाद दिनुभयो ।

यस्तै उहाँले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै कांग्रेस पनि वामपन्थीहरुसँगै समाजवादको यात्रामा जान्छ भने स्वागत गरिने बताउनुभयो । नेता खनालले काँग्रेस कम्युनिस्ट दुवै मिलेमा समाजवादको यात्रामा सजिलै पुगिने समेत विश्वास ब्यक्त गर्नुभयो ।

Back to top button