एसपीपीमा आवद्ध नहुने पत्र पठायौं : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा आज बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी सरकारलाई पठाइएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभएको छ,‘परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने पत्र पठाइसकेका छौं। मन्त्रिपरिषद्ले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय ग‍र्‍यो ।’

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो त्यससँगै परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पत्रसमेत पठाउने निर्णय गरेको थियो ।

नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने प्रावधान राखिएको एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भएको थियो ।

Back to top button