स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु, एक बालिका घाइते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलको बसको ठक्करबाट सोहि विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु भएको छ । एक बालिका घाइते भएको प्रहरीले जनाएको छ ।

स्कुलको १ क ११३० नम्बरको बसले दिउँसो ४ बजेतिर बालबालिकालाई ठक्कर दिएको हो । बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार दुर्घटनामा गीम्भर घाइते भएका बालकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

रंगेली– ६ घर भई सोहि विद्यालयमा एलकेजीमा अध्ययनरत ६ वर्षीया बालिका सुनमकुमारी मण्डललाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

स्कुल छुट्टि भएर घर फर्कदै गरेका बालबालिकालाई बसले पछाडिबाट ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button