होटल व्यवसायलाई मर्यादित बनाउने प्रयत्न, सुझाव संकलन कार्यदल गठन

विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसायलाई मर्यादित बनाउनकालागि जिल्ला प्रहरी कार्यालय मोरङले आज सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

होटल व्यवसायीहरुसँग शान्ति सुरक्षा व्यवस्थापन र नियमन सम्बन्धमा अन्तरक्रिया गर्दै सरोकारवाला पक्षहरुबाट सुझाव लिने कामको थालनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मारवाडी सेवा सदनमा भएको अन्तरक्रियाबाट सबै क्षेत्रका राय सुझाव लिन ‘सुझाव संकलन कार्यदल’ नै गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा सवै सरोकारावाला पक्षका प्रतिनिधि रहनेगरि तत्–तत् क्षेत्रबाट सुझाव संलन गर्ने निर्णय भएको छ ।

कार्यदललाई आवश्यक सुझाव दिन १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार अन्तरक्रियामा सवै क्षेत्रका प्रतिनिधिहरुको सक्रिय उपस्थिती रहेको अन्तरक्रियामा आ–आफ्नो क्षेत्रका समस्याका बिषयमा जानकारी गराएका थिए ।

विराटनगर महानगरका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, आन्तरीक राजश्व कार्यालय विराटनगरका प्रमुख सुर्यप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाक्रम खाँलगायतको उपस्थिती थियो ।

यस्तै महानगरका सबै वडाका अध्यक्ष, क्षेत्रीय होटल संघ, विराट होटल संघ, होटल तथा पेय पदार्थ संघ, साना तथा मझौला होटल संघ, होटल व्यवसायीहरु सहभागि कार्यक्रम होटल व्यवसायलाई मर्यादित कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रित भएको थियो ।

कार्यक्रममा होटल व्यवसायीहरुले प्रहरी प्रशासनबाट चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको गुनासो गरेका थिए । यस्तै विराटनगरका होटल व्यवसायका ग्राहक भारतीय नागरिक समेत रहेको भन्दै उनीहरुलाई पटक–पटक चेकजाँच गरेर दुःख दिने, निर्धारीत समय अघि देखि नै होटल बन्द गर्न सिटि फुक्दै हिडेर एक किसिमको आतंकित पार्ने, पार्किङका बिषयमा अनेकन समस्याहरु झेल्नुपरिरहेको होटल व्यवसायीको गुनासो थियो ।

यस्तै होटल व्यवसायीहरुले ग्राहकको अभिलेख नराख्ने, अनावश्यक हो–हल्ला र झगडाको वातावरण सृजना हुँदा समेत प्रहरी प्रशासनसँग समन्वय नगर्ने, आचारसंहिताको पालनामा अटेर गर्नेजस्ता बिषयले छलफलमा स्थान पाएको थियो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख नागेश कोइरालाले होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न गराउन महानगरले खेल्नुपर्ने भूमिकाका लागि तयार रहेको बताउनुभएको छ । उहाँले कतै नीतिगत सुधार आवश्यक भएपनि महानगर तयार भएको बताउनुभयो ।

उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख जिल्ला अधिकारी दाहाललगायतले कार्यदलले दिएको सुझावका आधारमा होटल व्यवसायलाई मर्यादित बनाउन आवश्यक सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Back to top button